मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एमालेको सचिवालय बैठक शनिबार

बिहिबार, बैशाख ३१ २०८३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा शनिबार बैठक बस्न लागेको हो ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक एमाले सचिवालय बैठक बस्न लागेको बताइएको छ । निर्वाचनमा अपेक्षाकृत कमजोर परिणाम आएपछि पार्टीभित्र ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गएको चर्चा भइरहेको थियो । यहीबीच लामो समयसम्म बैठक नबसेको भन्दै नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए ।

पार्टीका औपचारिक कार्यक्रममा कम सहभागिता जनाउनुका साथै बैठकसमेत नराखिएको अवस्थामा वैशाख २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ले भक्तपुरको गुण्डुस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गरेका थिए ।

बैठक नबस्दा एमालेले प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयको औपचारिक समीक्षा गर्न नसकेको बताइएको छ ।

यसैबीच, बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको भोलिपल्ट चैत १४ गते जेनजी आन्दोलन घटनाको अनुसन्धानका क्रममा ओली पक्राउ परेका थिए । त्यसपछि स्वास्थ्य समस्याका कारण उनले पित्तथैलीको शल्यक्रिया गराएको र आराम गरिरहेकाले पार्टीका औपचारिक गतिविधिमा कम सक्रिय देखिएका छन् ।