मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन

बिहिबार, बैशाख ३१ २०८३

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्डको पालना तथा ट्राफिक नियम कार्यान्वयनको अवस्थाबारे निगरानी गर्न विशेष छड्के अनुगमन तथा निरीक्षण अभियान सुरु गरेको जनाएको छ।

यात्रुको सुरक्षा सुनिश्चित गर्ने, सार्वजनिक यातायात सेवा सुधार गर्ने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित बुधबारदेखि नियमित रूपमा अनुगमन अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले सार्वजनिक यातायातमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सिसीक्यामेरा, ड्यासबोर्ड क्यामेरा लगायतका सुरक्षा उपकरण जडान भए–नभएको विषयमा विशेष ध्यान दिई निरीक्षण थालिएको बताउनुभयो। उहाँका अनुसार सार्वजनिक सवारीसाधनको सरसफाइ, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढी यात्रु बोकिएको अवस्था तथा ट्राफिक नियमको पालनाबारे पनि निगरानी गरिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन अभियान सुरु गरिएको बताउनुभयो। उहाँले सरकारले तोकेको मापदण्डअनुसार सिसीक्यामेरा तथा ड्यासबोर्ड क्यामेरा जडान गर्नुपर्ने र सवारीसाधन सफा तथा व्यवस्थित राख्नुपर्ने व्यवस्था रहेकाले कार्यान्वयन नगर्ने सवारीसाधनमाथि आवश्यक कारबाही गरिने जानकारी दिनुभयो।

अनुगमनका क्रममा ट्राफिक प्रहरी प्रमुख अधिकारीसहितको टोलीले सार्वजनिक बसमै यात्रा गर्दै उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। टोलीले चालकहरूले लेन अनुशासन पालना गरे–नगरेको, यात्रु चढाउने तथा ओराल्ने स्थानको उचित प्रयोग भए–नभएको, मोबाइल प्रयोग गरेर सवारी चलाइएको वा नभएको तथा गति नियन्त्रणको अवस्थाबारे समेत निगरानी गरेको जनाएको छ।

पछिल्लो समय सार्वजनिक यातायातप्रति यात्रुको गुनासो बढ्दै गएको, सवारीसाधनको लापरबाहीका कारण दुर्घटनाको जोखिम उच्च रहेको तथा सुरक्षा उपकरणको प्रयोग प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै यस्तो अभियान सञ्चालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताउनुभयो। उहाँले आगामी दिनमा पनि उपत्यकाका मुख्य रुटहरूमा निरन्तर अनुगमन जारी रहने जानकारी दिए ।