मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुला

बुधबार, बैशाख ३० २०८३

काठमाडौं । काठमाडौं महानगरपालिका ले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गर्ने भएको छ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा उपलब्ध छात्रवृत्ति कोटामा विद्यार्थी छनोट गर्न परीक्षा प्रणाली लागू गर्न लागेको जनाएको छ।

महानगरपालिकाद्वारा जारी सूचनाअनुसार छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले २०८३ साल जेठ १ गते बिहान १० बजेदेखि अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन फाराम भर्ने अन्तिम म्याद जेठ १० गते राति ११ः५९ बजेसम्म तोकिएको छ।

विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट तथा तोकिएको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।

छात्रवृत्ति छनोटका लागि लिइने परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जानकारी महानगरपालिकाले दिएको छ।

महानगरपालिकाका अनुसार विषयगत अङ्कभार, विद्यालयअनुसार उपलब्ध छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

महानगरपालिकाले जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीलाई पारदर्शी र निष्पक्ष रूपमा छात्रवृत्ति वितरण गर्न परीक्षा प्रणाली सञ्चालन गर्न लागिएको जनाएको छ।