भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ननग्रेडेड भएका विद्यार्थीका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने जनाएको छ।
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारी ले यस वर्ष एसइईमा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने जानकारी दिए ।
उनले यस वर्ष दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएको तथा एक लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएको बताए । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरे पनि चार लाख ३० हजार ६६७ जना मात्र सहभागी भएको उनको भनाइ थियो।
ग्रेडवृद्धि परीक्षाको तयारीका लागि सम्बन्धित विद्यालयलाई अतिरिक्त तयारी कक्षा सञ्चालन गर्न बोर्डले आग्रह गरेको उनले जानकारी दिए । साथै, एसइई नतिजामा चित्त नबुझेका विद्यार्थीका लागि पुनर्योग आवेदन खुला गरिएको पनि उनले बताए ।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार पुनर्योगका लागि जेठ १ गतेदेखि ७ गतेसम्म आवेदन दिन सकिनेछ। गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षाको नतिजा भने २९ दिनमै सार्वजनिक गरिएको उनले जानकारी दिए ।
गत सोमबार सार्वजनिक नतिजाअनुसार यस वर्ष ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यो नतिजा गत वर्षको तुलनामा ४ दशमलव १७ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ५० हजार ८९०, मधेसमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनीमा ४४ हजार २५६, कर्णालीमा १९ हजार ९५ र सुदूरपश्चिममा २१ हजार ६६४ विद्यार्थी ग्रेडेड भएका छन्।
त्यस्तै, मधेस प्रदेशमा ३१ हजार ७२५, कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ र सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी ननग्रेडेड भएका छन्।
यसैबीच, बोर्डले कक्षा ११ को भर्ना प्रक्रिया पनि छिट्टै सुरु गरिने जनाएको छ। परीक्षा नियन्त्रक अधिकारीले शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर भर्ना तथा पठनपाठनको मिति निर्धारण गर्ने बताए ।