मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

मेची पुलबाट ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८३’ सुरु

मंगलबार, बैशाख २९ २०८३

झापा। सडकपेटीमा कसैले पनि कष्टकर जीवन बिताउन नपरोस् भन्ने उद्देश्यसहित मानव सेवा आश्रमले ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ ।

पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्वलन गरी अभियानको औपचारिक सुरुवात गरिएको हो । यो उद्धार यात्रा जेठ २२ गतेसम्म देशभर सञ्चालन हुने जनाइएको छ ।

कार्यक्रमको शुभारम्भ समारोहमा आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक तथा गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले संक्षिप्त सम्बोधन गरेका थिए ।

मानव सेवा आश्रमले विगत १३ वर्षदेखि सडकपेटीमा आश्रित तथा सहयोगापेक्षी मानवहरूको उद्धार, संरक्षण र पुनःस्थापनामा काम गर्दै आएको अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

आनी छोइङ डोल्माले मानव सेवा नै सर्वोच्च धर्म भएको बताउँदै उद्धार अभियानमा सबै देशवासीलाई सहयोग गर्न आग्रह गरेकी छन् । आश्रम र फाउन्डेसनको सहकार्यमा तेस्रो पटक यो अभियान सञ्चालन गरिएको पनि उनले जानकारी दिइन् ।

यसपटक आनी छोइङ डोल्माकै नेतृत्वमा २६ जना स्वयंसेवकको टोलीले मेचीदेखि महाकालीसम्मको यात्रामा सडक मानवहरूको उद्धार गरी विभिन्न जिल्लास्थित आश्रममा राख्ने कार्यक्रम रहेको छ ।

मानव सेवा आश्रमले हाल सातै प्रदेशका १९ जिल्लामा २३ वटा शाखामार्फत सेवा दिइरहेको छ । आश्रमले देशका ७७ वटै जिल्लाबाट आफन्तविहीन तथा सहयोगापेक्षी सडक मानवहरूको उद्धार र मानवोचित व्यवस्थापन गर्दै आएको जनाएको छ ।