म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ स्थित महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।
ढुङ्गा र माटोसहितको पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।
सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङतर्फ तथा जोमसोमबाट बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । यसबाट स्थानीयवासीसँगै मुस्ताङ भ्रमण र मुक्तिनाथ दर्शनका लागि आवतजावत गर्ने पर्यटक तथा तीर्थयात्री प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।
महभिर क्षेत्रमा सडकभन्दा करिब ५०० मिटर माथिबाट बारम्बार पहिरो खस्ने समस्या रहेको छ । सामान्य वर्षा हुँदा पनि लेदोसहित पहिरो झर्ने गरेकाले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको स्थानीयले बताएका छन् ।