काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक नतिजाअनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो ।
गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । यस वर्ष परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थिमध्ये सबैभन्दा बढी ४८ हजार ३९२ जनाले ३.६० देखि ४.०० सम्मको जीपीए प्राप्त गरेका छन् ।
त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० जीपीए ल्याउने ९४ हजार २२२ विद्यार्थी छन् । २.४० देखि २.८० जीपीए प्राप्त गर्ने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।
यसैगरी, २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेको छ भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या केवल ७ जना रहेको बोर्डले जनाएको छ ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी ग्रेडेड विद्यार्थी बागमती प्रदेशमा रहेका छन् । बागमतीमा ७७ हजार ११३ विद्यार्थी ग्रेडेड भएका छन् भने कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, गण्डकीमा २६ हजार ५५०, लुम्बिनीमा ४४ हजार २५६, कर्णालीमा १९ हजार ९५ र सुदूरपश्चिममा २१ हजार ६६४ विद्यार्थी ग्रेडेड भएका छन् ।
सरकारले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न दिएको निर्देशनअनुसार बोर्डले २९ दिनमै नतिजा सार्वजनिक गर्न सफल भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । उनका अनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो प्रकाशन गर्न सम्भव भएको हो ।

बोर्डले अनुत्तीर्ण विद्यार्थीका लागि पूरक परीक्षाको मिति पनि तय गरेको छ । पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ ।
यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा धेरै विद्यार्थी उत्तीर्ण गराइने आशंका उठे पनि शिक्षकहरूले मर्यादाभित्र रहेर निष्पक्ष मूल्यांकन गरेको परीक्षा नियन्त्रक अधिकारीले दाबी गरे ।
नतिजा सुधार हुनुमा विद्यार्थी र शिक्षकको मेहनत मुख्य कारण रहेको बोर्डको निष्कर्ष छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालयहरूले अतिरिक्त समय दिएर विद्यार्थीलाई तयारी गराउनु, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुनु र प्रश्नपत्रको मोडेल पूर्वतयारीका रूपमा उपलब्ध गराइनु नतिजा सुधारका मुख्य कारण भएको बताए ।
यस वर्ष परीक्षामा १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् । सबैभन्दा बढी मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी नन–ग्रेडेड भएका छन् । मधेशबाट ७६ हजार ३१७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
त्यस्तै, कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ र सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।