काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीले आगामी वैशाख ३० गते बिहान साढे ८ बजे बस्ने गरी बैठक आह्वान गरेको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरिएको छ । साथै जिल्ला अधिवेशनको तयारी अघि बढाइने जनाइएको छ ।
रास्वपाले पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको भन्दै विभिन्न जिल्लाका १५ जना सदस्यको सदस्यता पनि खारेज गरेको जनाएको छ । ती सदस्यहरूको नाम भने सार्वजनिक गरिने प्रवक्ता झाले जानकारी दएि ।
बैठकले वडा, पालिका र जिल्ला अधिवेशनको विशेष कार्यतालिका पनि स्वीकृत गरेको छ । तय कार्यतालिकाअनुसार जेठ २ गते समिति गठन नभएका वडामा वडा भेला, जेठ ३ गते वडा अधिवेशन तथा जेठ २३ र २४ गते जिल्ला अधिवेशन आयोजना गरिनेछ ।
त्यसैगरी विभिन्न विभाग तथा तहमा नयाँ जिम्मेवारीसमेत तोकिएको छ । निर्णयअनुसार बैकुण्ठ थापा ‘आशिष’ समन्वय विभाग प्रमुख र विदुर खड्का उपप्रमुखमा मनोनित भएका छन् । डा प्रभात अधिकारी स्टार्टअप विभाग प्रमुख, हरि जोशी सचिव तथा मिलन पाण्डे शिक्षा विभाग प्रमुखमा मनोनित भएका छन् ।
यस्तै कर्णाली प्रदेश सहमन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदी, केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल तथा कञ्चनपुर जिल्ला सभापतिमा पदम विष्टलाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।