बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टर्किस एयरको विमानमा आगलागीपछि डेढ घण्टा बन्द भएको त्रिभुवन विमानस्थल सञ्चालनमा

सोमबार, बैशाख २८ २०८३

काठमाडौं ।टर्किस एयरको इस्तानबुलबाट काठमाडौं आएको टीके–७२६ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको छ । दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा रहेका सबै यात्रु सुरक्षित रहेका छन् । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

उनका अनुसार विमानमा चार बालबालिकासहित २७७ यात्रु सवार थिए । उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् । विमानमा केही शव तथा सामानसमेत रहेको जनाइएको छ ।

आज बिहान करिब पौने ७ बजेतिर अवतरण गर्ने क्रममा विमानको चक्कामा आगो लागेको थियो । आगलागीपछि विमान धावनमार्गमै रोकिएको छ ।

विमान धावनमार्गमै अड्किएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएका थिए। विशेषगरी ठूला जहाजहरूको नियमित उडान तालिकामा असर परेको जनाइएको छ ।

आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ ।

विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो । बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन् ।