काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनी का अनुसार प्राविधिक समस्या नआए मंगलबारसम्म नतिजा सार्वजनिक गरिनेछ ।
“सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए मंगलबारसम्म नतिजा प्रकाशित गर्छौं,” उहाँले भन्नुभयो ।
यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो ।
यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ परीक्षार्थी सहभागी भएका थिए ।
तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना सहभागी भएका थिए ।
लिङ्गगत विवरण अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी सहभागी भएका थिए ।
यस वर्ष देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । साथै, केही केन्द्रबाट विदेशमा समेत परीक्षा सञ्चालन गरिएको थियो ।