काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ सम्बन्धी राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्ने भएको छ ।
पार्टीको ‘पार्टी–संसद्–सरकार समन्वय समिति’ले आयोजना गरेको उक्त कार्यक्रममा विपद् व्यवस्थापनका विविध पक्षमा छलफल हुने जानकारी महामन्त्री भूपदेव शाहले दिएका छन् ।
अपराह्न ३ बजेदेखि सुरु हुने कार्यक्रममा विपद् उत्थानशीलता विषयगत प्रमुख प्राविधिक सहायता तथा रणनीतिक सिकाइ परियोजनाका प्रतिनिधि डा. गौरव सागर दवाडीले मुख्य अनुशिक्षण दिने कार्यक्रम रहेको छ ।
त्यसैगरी, कार्यक्रममा जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेती, विपद् जोखिम न्यूनीकरण तथा मानवीय कार्यका लागि महिला मञ्चकी प्रतिनिधि कृष्णा कार्की, समावेशी विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक विमल गदाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त प्रमुख अमृत श्रेष्ठले आ–आफ्नो अनुभव प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने नीति, पूर्वतयारी, समन्वय र स्थानीय तहको भूमिकाबारे गहिरो छलफल हुने बताइएको छ ।