झापा । झापा को मेचीनगर नगरपालिका–१, ४ र ५ अन्तर्गत पर्ने बाहुनडाँगी क्षेत्रमा भारतबाट आउने हात्तीको बथानका कारण स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।
भारततर्फको जंगलबाट प्रत्येक रात ३० देखि ४० वटासम्मको समूहमा प्रवेश गर्ने हात्तीले किसानका पाकेका मकै, सुपारीलगायत बाली नष्ट गर्न थालेपछि समस्या गम्भीर बन्दै गएको हो ।
स्थानीयका अनुसार एक सातायता हात्तीको बथान नियमित रूपमा सीमावर्ती क्षेत्रमा प्रवेश गर्ने गरेको छ । दिनभर भारतको आसामतर्फको जंगलमा बस्ने हात्ती रात परेपछि नेपाल प्रवेश गरेर बालीमा क्षति पुर्याउने गरेका छन् ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की का अनुसार हात्ती नियन्त्रणका लागि सर्वपक्षीय बैठकमार्फत सुरक्षाकर्मी, वन रक्षक र रेपिड रेस्पोन्स टिम परिचालन गरिएको छ ।
बैठकले साँझ ६ बजेपछि सीमाक्षेत्रमा सर्वसाधारणलाई जान रोक लगाउने, मौसमी तारबार लगाउने, ट्रयाक्टरमार्फत हात्ती खेदाउने तथा नगरपालिकाबाट इन्धन उपलब्ध गराउने निर्णय गरेको छ । साथै रातिको समयमा अनावश्यक हिँडडुल नगर्न माइकिङ गर्ने व्यवस्था पनि गरिएको छ ।
मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले बाहुनडाँगी क्षेत्रमा रहेको १८ किलोमिटर लामो सौर्य तारबार मर्मत गर्न प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।
उनका अनुसार एक दशकअघि जडान गरिएको उक्त तारबारमा प्रयोग भएका ब्याट्रीहरू बिग्रिएको र केही चोरीसमेत भएकाले मर्मत आवश्यक भएको हो ।
मञ्चका पूर्वअध्यक्ष निरज घिमिरे ले भने बाली पाक्ने समयमा भारतबाट आउने हात्तीका कारण हरेक वर्ष जनधनको क्षति दोहोरिँदै आएको भन्दै भारत सरकारसँग उच्चस्तरीय छलफल गर्नुपर्ने माग गर्नुभएको छ ।
स्थानीय बासिन्दा गोपी रिजाल का अनुसार हालसम्म हात्तीको आक्रमणबाट तीन जना घाइते भएका छन् भने १५ भन्दा बढी घरमा क्षति पुगेको छ ।
स्थानीयले तत्काल तारबार मर्मत, निगरानी कडाइ र दीर्घकालीन समाधान ननिकालिए समस्या झन् गम्भीर हुने चेतावनी दिएका छन् ।