जनकपुरधाम । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट (एचए), सीएमए र ल्याब टेक्निसियन समूहलाई समावेश नगरेको भन्दै स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् ।
सरकारले ३५ वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई पूर्ण रूपमा उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मीहरूले जनकपुरधामको जनकचोकमा नेपाल सरकार र स्वास्थ्यमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
विरोध कार्यक्रममा बोल्दै नवेश अधिकारीले साढे तीन दशकपछि दरबन्दी थप हुनु सकारात्मक भए पनि एचए, सीएमए र ल्याब समूहको दरबन्दी शून्य राखिनु अन्यायपूर्ण भएको बताए ।
उनले सरकारले मेडिकल माफियाको प्रभावमा परेर विभेदकारी निर्णय गरेको आरोप समेत लगाए ।
“यदि सरकारले तत्काल निर्णय सच्याएर हाम्रो माग सम्बोधन गरेन भने वैशाख २८ गतेदेखि काठमाडौंमा सशक्त आन्दोलन सुरु गर्छौं,” उनले चेतावनी दिए ।
सरकारले दुई दिनअघि स्वास्थ्य क्षेत्रमा ९ सय ७७ जना नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई अर्थ मन्त्रालयले गत बुधबार स्वीकृति दिएको जनाइएको छ ।
तर, नयाँ दरबन्दीमा केही निश्चित समूहलाई मात्रै समेटिएको भन्दै आधारभूत तहका स्वास्थ्यकर्मीहरू आफूहरूमाथि विभेद भएको दाबी गर्दै आन्दोलनमा उत्रिएका हुन् ।