मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

जनताले नयाँ अनुहार मात्रै नभई नयाँ सोच, संस्कार र परिणाममुखी कार्यशैली खोजिरहेका छन् : गणेश पराजुली

आइतबार, बैशाख २७ २०८३

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले अब नयाँ अनुहार मात्रै नभई नयाँ सोच, संस्कार र परिणाममुखी कार्यशैली खोजिरहेको बताएका छन् ।

शनिबार पाटनमा पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सांसदहरूलाई जनअपेक्षाअनुसार जिम्मेवार र परिणाममुखी ढंगले काम गर्न आग्रह गरे ।

राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्नुपर्ने जनअपेक्षा रहेको उल्लेख गर्दै उहाँले जनताले पार्टीप्रति देखाएको विश्वासलाई व्यवहारिक परिणाममा बदल्नुपर्नेमा जोड दिए ।

“नेपालको लोकतन्त्र महत्त्वपूर्ण मोडमा उभिएको छ । यसलाई सशक्त बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ,” उनले भने, “राजनीतिमा नयाँ पुस्ताको ऊर्जा, पारदर्शिता, सुशासन, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास आवश्यक छ । त्यसैको आधार तयार गर्न यो प्रशिक्षण आयोजना गरिएको हो ।”

उनले प्रशिक्षणबाट प्राप्त अनुभव र ज्ञानले आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रशिक्षणमा संसद् र संसदीय समितिको भूमिका, पार्टी–संसद्–सरकारबीचको समन्वय, संसदीय मर्यादा, तथ्यमा आधारित बहस, जनउत्तरदायी राजनीतिक व्यवहार तथा नेतृत्व विकासजस्ता विषय समेटिएको उनले जानकारी दिए ।

“आजको राजनीति केवल नाराले चल्दैन । क्षमता, तयारी, अध्ययन र परिणामले राजनीतिलाई परिभाषित गर्छ,” उनले भने, “जनताले अब कसले के भन्योभन्दा पनि कसले के गर्‍यो भन्ने आधारमा मूल्यांकन गर्न थालेका छन् ।”

रास्वपाले सुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सक्षम सांसद र सशक्त संसद्को आवश्यकता रहेको बताए।

उनले प्रशिक्षणलाई औपचारिक कार्यक्रम मात्र नभई सिकाइ, आत्ममूल्यांकन, अनुभव आदानप्रदान र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा लिन आग्रह गरे।

उद्घाटन समारोहपछि उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले ले बन्द सत्रमा सांसदहरूलाई प्रशिक्षण दिनुभएको थियो । साथै, महामन्त्री भूपदेव शाह ले पार्टी, सरकार र सदनबीचको समन्वय तथा उपनेता पराजुलीले संसदीय समितिमा सांसदहरूको भूमिकाबारे प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रम आइतबार पनि जारी रहने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।