मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दर्ता

शुक्रबार, बैशाख २५ २०८३

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेस गरिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका हुन्।

रिटमा संवैधानिक परिषद्को निर्णय संविधानको आधारभूत मर्मविपरीत, बदनियतपूर्ण र स्वेच्छाचारी रहेको दाबी गरिएको छ। वरिष्ठ अधिवक्ता त्रिपाठीले परिषद्को निर्णय प्रथम दृष्टिमै संविधानविपरीत देखिएकाले रिट दर्ता गर्न लागिएको बताएका छन्।

वारेशमार्फत पेस गरिएको रिटमा संवैधानिक परिषद्ले २०८३ वैशाख २४ गते गरेको सिफारिसलाई उत्प्रेषणको आदेशद्वारा बदर गर्न र प्रथम वरीयताका न्यायाधीशलाई सिफारिस गर्न परमादेश जारी गर्न माग गरिएको छ।

रिट निवेदनमा परिषद्को निर्णय कार्यान्वयन नगर्न तथा संसदीय सुनुवाइ प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेशसमेत माग गरिएको छ।