काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा वरिष्ठता मिचिएको भन्दै कडा आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले “वरिष्ठता भनेको कपाल फुल्नु वा उमेर मात्र बढ्नु होइन” भन्ने गलत भाष्य सत्तापक्षले स्थापित गर्न खोजिरहेको आरोप लगाएकी छन्। उनका अनुसार वरिष्ठता संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णय क्षमता र संस्थाप्रतिको विश्वासको समष्टि हो।
उनले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको दाबी गर्दै यस्तो प्रवृत्ति खतरनाक दिशातर्फको संकेत भएको टिप्पणी गरेकी छन्।
ओलीले लेखेकी छन्, “स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघातक दिशातर्फ अगाडि बढ्दै छ।”
उनका अनुसार चौथो वरीयतामा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाइनुले संवैधानिक तथा सार्वजनिक नियुक्तिमा गलत नजिर स्थापित गरेको छ। उनले विधि र प्रक्रियाको नाममा गरिएको दाबीमै सरकारको प्रतिबद्धता कमजोर देखिएको उल्लेख गर्दै राज्य प्रणालीमा विधिभन्दा अधिनायकवादी प्रवृत्ति हावी हुँदै गएको आरोप लगाएकी छन्।
उनले यो निर्णयलाई “थिति बसाल्ने अवसर गुमाइएको” भन्दै निष्कर्ष निकालेकी छन्।