काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसप्रति आपत्ति जनाएका छन्।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरिएको विषयमा प्रतिक्रिया दिँदै साम्पाङले वरीयता मिचिएको आरोप लगाएका हुन्। उनले उक्त निर्णय सरकारको “ठूलो असफलता” बन्न सक्ने चेतावनीसमेत दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले “वरियताले चौथो भनिने व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण हो” भन्दै टिप्पणी गरेका छन्। साथै उनले अध्यादेशको औचित्य पुष्टि भएको दाबी गर्दै सरकारको कदममाथि व्यंग्य गरेका छन्।
साम्पाङले “पुराना सरकारभन्दा पनि अहिलेको सरकार खत्तम देखियो” भन्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनले “नीतिगत भ्रष्टाचारभन्दा ठूलो भ्रष्टाचार अर्को हुँदैन” भन्दै सरकारलाई “भ्रष्टाचारी सरकार”को संज्ञासमेत दिएका छन्।