काठमाडौं । संवैधानिक परिषद्ले आज नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरिरहेका बेला वरिष्ठता मिचिने सम्भावनाबारे राजनीतिक वृत्तमा बहस चुलिएको छ।
यसै सन्दर्भमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सामाजिक सञ्जालमार्फत गम्भीर टिप्पणी गर्दै वरिष्ठता मिचेर नियुक्ति नगर्न सचेत गराएका छन्।
उनले “विगतका गल्ती सच्याउने” भन्ने भाषण गर्ने तर व्यवहारमा अधिनायकवादी शैली अपनाउने प्रयास भइरहेको संकेत गरेका छन्।
रास्वपाका सभापति रवि लामिछाने लगायतलाई लक्षित गर्दै शर्माले लेखेका छन्, “शब्दमा भन्ने– ‘विगतका गल्ती सच्याउने’ अनि कर्ममा उत्तर कोरिया पछ्याउने ? जिम्मेवार मित्रहरूले गम्भीर मनन गरुन् । ८० वर्षे न्यायिक इतिहासमा पञ्चायतले समेत नगरेको कर्मको धब्बा बोक्ने नै हो ?”
उनले सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्ने उल्लेख गर्दै बहुमतको निर्णयका लागि बहुसंख्या आवश्यक हुने धारणा पनि राखेका छन्।
प्रधानन्यायाधीश सिफारिसका विषयमा विभिन्न नाम चर्चामा रहेका बेला संवैधानिक परिषद्को बैठक आज बस्दैछ।