मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सञ्चारमाध्यमले नागरिकको आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

बिहिबार, बैशाख २४ २०८३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले सञ्चारमाध्यमहरूले नागरिकको आवाज, सामाजिक हित र जनविश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्।

गोरखापत्र संस्थान को १२६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको प्रभाव बढ्दै गएको सन्दर्भमा सञ्चारमाध्यमको भूमिका अझ जिम्मेवार हुनुपर्ने उल्लेख गरे।

उनले सरकारी सञ्चार संस्थानहरूलाई समयानुकूल ढंगले थप व्यावसायिक, उत्तरदायी र प्रभावकारी बनाउन आवश्यक रहेको बताए। संस्थानको हितका लागि कर्मचारीहरूले समाधानमुखी सोच र जिम्मेवारीपूर्ण कार्यशैली अपनाउनुपर्नेमा पनि उनले जोड दिए।

लामो समयदेखि दोहोरिँदै आएका समस्याहरू मात्र औँल्याएर नहुने भन्दै मन्त्री तिमिल्सिनाले अब सुधार र समाधानतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।

उनले गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य रहेको उल्लेख गर्दै देशको भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण, प्रयोग र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

गोरखापत्रको लामो इतिहास स्मरण गर्दै उनले पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणाली समयसँगै व्यापक रूपमा परिवर्तन भएको उल्लेख गरे। अन्य सञ्चारमाध्यमको तुलनामा आफूलाई कसरी विश्वसनीय, प्रभावकारी र फरक बनाउने भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।

“आज भनेको भोलिको इतिहास हो । आज गरेका असल कामले नै भविष्यको मार्गनिर्देश गर्छ,” भन्दै मन्त्री तिमिल्सिनाले संस्थालाई गर्व गर्नलायक बनाउने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

उनले नागरिकले तिरेको कर र सरकारी अनुदानबाट सञ्चालित संस्था भएकाले जनहितलाई प्राथमिकतामा राख्नु मुख्य दायित्व भएको पनि बताए।

कार्यक्रममा मन्त्री तिमिल्सिनाले गोरखापत्रले आजदेखि प्रकाशन सुरु गरेको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति अनावरणसमेत गरेका थिए।