काभ्रेपलाञ्चोक । बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ।
अस्थायी डाइभर्सन निर्माण गरेपछि आज बिहानदेखि राजमार्गमा सवारी आवागमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत सोमबार परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध भएको थियो।
प्रहरीले वर्षा अझै जारी रहेकाले अत्यावश्यक बाहेक अन्य यात्रुहरूलाई यो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ। वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर भागमा बनाइएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले बेला–बेलामा आवागमन रोक्नुपर्ने अवस्था आउने गरेको प्रहरीले जनाएको छ।
राजमार्ग बन्द हुँदा सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा रोक्ने व्यवस्था गरिएको थियो।
गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएको थियो। त्यसपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन हुँदै आएको छ। हाल उक्त क्षेत्रमा सडक पुनर्निर्माणको काम जारी रहेको छ।