बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संविधान संशोधनमा उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्ने गोकुल बाँस्कोटाको प्रस्ताव

'केन्द्र र स्थानीय तहमात्र राखौँ'

बिहिबार, बैशाख २४ २०८३

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संविधान संशोधनको बहस चलिरहेका बेला उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले संघीय संरचनामा पुनरावलोकन आवश्यक रहेको उल्लेख गरेका छन्। उनले केन्द्र र स्थानीय तहलाई मात्रै कायम राखेर संरचना परिमार्जन गर्नुपर्ने बताएका छन्।

उनले राष्ट्रिय सभालाई १०५ सदस्यीय बनाउँदै पूर्ण समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्। साथै महिला–पुरुष सहभागिता ५०–५० प्रतिशत हुनुपर्ने उनको प्रस्ताव छ।

बास्कोटाले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाली खारेज गरी प्रत्यक्ष निर्वाचित प्रणालीमा महिला–पुरुष प्रतिनिधित्व ४०–६० प्रतिशतको अनुपातमा कायम गर्नुपर्ने बताएका छन्।

उनले जिल्ला समन्वय समिति (जिसस) आवश्यक नभएको भन्दै खारेज गर्नुपर्ने तर्क पनि गरेका छन्।

संविधान संशोधनको विषयमा राजनीतिक दलहरूबीच बहस चलिरहेका बेला बास्कोटाको यो धारणा सार्वजनिक भएको हो।