काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन संवैधानिक परिषद्को बैठक बोलाइएको छ।
प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्षको निर्देशनमा परिषद् सचिवालयले बिहीबार अपराह्न ५ बजेका लागि बैठक आह्वान गरेको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश पदका लागि उपयुक्त व्यक्तिको नाम सिफारिस गर्नु रहेको बताइएको छ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी हुनेछन्।
लामो समयदेखि रिक्त वा कायममुकायम नेतृत्वको भरमा सञ्चालन हुँदै आएको न्यायपालिकाले स्थायी नेतृत्व पाउने अपेक्षाका साथ परिषद्को बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
संवैधानिक व्यवस्थाअनुसार परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।