काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। मङ्गलबारको तुलनामा सुन प्रतितोला रु ५ हजार ८०० र चाँदी रु १७५ ले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९६ हजार ८०० पुगेको छ भने चाँदीको मूल्य प्रतितोला रु ५ हजार ५५ कायम भएको छ। अघिल्लो दिन सुन रु २ लाख ९१ हजार र चाँदी रु ४ हजार ८८० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। आज सुन प्रतिऔँस ४ हजार ६३० अमेरिकी डलर र चाँदी प्रतिऔँस ७४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको बताइएको छ।