काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण पटक–पटक अवरुद्ध हुँदै आएको बीपी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातिको समयमा अनिश्चितकालीन आवागमन बन्द गराएको छ।
समितिका अनुसार साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म आवागमन रोक लगाइएको हो। वर्षाका कारण रोशी खोलामा आउने बाढीले अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुने जोखिम बढेपछि यस्तो निर्णय गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। मौसममा सुधार आएपछि मात्र यातायात पुनः नियमित गरिने जनाइएको छ।
यसैबीच सोमबार राति वर्षाका कारण रोशी गाउँपालिका–७ को लास्कोट–घुमाउने खण्डमा फसेका यात्रुहरूको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पाँचवटा माइक्रोबसमा सवार ८९ यात्रुलाई राति १:०० बजे सुरक्षित रूपमा उद्धार गरी गन्तव्यतर्फ पठाएको थियो।
रोशी क्षेत्रमा आएको बाढीले डाइभर्सन बगाउन थालेपछि सोमबार साँझदेखि नै आवागमन बन्द गरिएको थियो। सवारीसाधनलाई धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको थियो।
प्रहरीले दिनको समयमा पनि राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न र अर्को सूचना जारी नभएसम्म जोखिमयुक्त खण्डमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ। बेमौसमी वर्षाका कारण काभ्रेपलाञ्चोकको नमोबुद्ध क्षेत्रदेखि सिन्धुलीको नेपालथोकसम्म बारम्बार डाइभर्सन बग्दा यातायात प्रभावित हुँदै आएको छ।
गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक क्षति पुर्याएपछि हाल खोलामै अस्थायी डाइभर्सन बनाएर आवागमन सञ्चालन भइरहेको छ। सो क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।