मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री

मंगलबार, बैशाख २२ २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट मुक्त गर्ने निर्णयले नागरिकको अधिकार नखोस्ने बरु पेसागत स्वतन्त्रता अझ बलियो बनाउने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले वर्षौँदेखि जरा गाडेको दलीय प्रभावका कारण विद्यार्थी र कर्मचारीतन्त्र “पार्टीकरणको शिकार” बनेको उल्लेख गरे। उनका अनुसार योग्यताभन्दा पहुँच र दलगत झण्डा तथा झोलाको आधारमा अवसर बाँडिँदा राज्य प्रणालीप्रति जनविश्वास कमजोर भएको हो।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी को उद्देश्य पनि नयाँ दलगत संगठन बनाउनु नभई शिक्षा र कर्मचारीतन्त्रको गुणस्तर सुधार्नु रहेको स्पष्ट पारे।

प्रधानमन्त्री शाहले अब सरुवा, बढुवा र नियुक्तिको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता हुनुपर्नेमा जोड दिए। उनले विद्यार्थीले राजनीति “नेताको भीडबाट होइन, गुरुबाट” सिक्नुपर्ने र कर्मचारीले कुनै दलको होइन, जनताको सेवा गर्नुपर्ने बताए।

उनका अनुसार यो कदम कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने र देशलाई दलगत प्रभावबाट मुक्त गर्दै संस्थागत मार्गमा लैजाने प्रयास हो।

सरकारले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्न अध्यादेशमार्फत व्यवस्था गरिएको भन्दै उनले यो निर्णय जनचाहनाअनुसार भएको दाबी गरे। साथै परिवर्तन भाषणले नभई निर्णयले आउने भएकाले सबैको साथ र विश्वास आवश्यक रहेको पनि उनले बताएका छन्।