बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपामा नेपालविरुद्ध ओलीको षडयन्त्र, वरीयता स्वीकार्ने

सोमबार, भाद्र २ २०७६

काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले आफूलाई तेस्रो वरियतामा राखिए पनि स्वीकारेर अगाडि बढ्ने संकेत दिएका छन् । आइतबार साँझ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विशेष कमिटी, सम्पर्क कमिटी र जनवर्गीय संगठनहरुको इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ । शुक्रबार नै टुंगो लगाएको विभागीय जिम्मेवारीमा केही नयाँ व्यक्ति थप्ने निर्णय समेत भएको छ ।

आइतबारकै बैठकले नेकपाका नेताहरुको बरिष्ठतामा समेत हेरफेर गर्ने निर्णय गरेको छ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता गर्दा पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाललाई दिइएको तेस्रो बरियतामा झलनाथ खनाललाई राख्ने निर्णय आइतबारको सचिवालय बैठकबाट भएको छ । यसबारे नेता नेपालले सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

तर, शुक्रबारको बैठकमा झलनाथ खनालले तेस्रो बरियता मागेपछि नेता नेपाल आफू पछि हट्न तयार भएको उनी निकट एक नेताले बताए । “आइतबारको बैठकमा उहाँ आफैंले झलनाथ खनाललाई तेस्रो बरियता दिन तयार हुनुभएको हो । यसमा आपत्ति नै छैन”, ती नेताले भने ।

सोमबार बिहानै नेता नेपाल जनकपुर गएका छन् । पूर्व निर्धारित स्मृति सभाका लागि नेता नेपाल जनकपुर प्रस्थान गरेका हुन् ।

तर, यसअगाडि नै नेता नेपालले आफू निकट नेताहरूसँग आइतबारको सचिवालय बैठकबारे समीक्षा गरिसकेका छन् । समीक्षाका क्रममा नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्र गरेको निष्कर्ष निकालेका छन् ।