काठमाडौं । काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको आकस्मिक बाढीका कारण फसेका माइक्रोबसका ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ।
सोमबार राति एक्कासी बाढी आएपछि खोलाको बीच भागमै पाँच वटा माइक्रोबसमा सवार यात्रुहरू फसेका थिए। पूर्वी नेपालबाट काठमाडौंतर्फ आउँदै गरेका ती यात्रुहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को संयुक्त टोलीले उद्धार गरेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार डोरी र र्याफ्टिङ बोटको प्रयोग गरी सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर गन्तव्यतर्फ पठाइएको छ। उद्धार कार्यमा सशस्त्र प्रहरी बल १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी तथा नेपाली सेनाको टोलीसमेत सक्रिय रूपमा खटिएको थियो।

यसैबीच, निरन्तर वर्षा र बाढीका कारण बीपी राजमार्ग का विभिन्न खण्डमा क्षति पुगेको छ, जसले गर्दा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
तस्वीर : नेपाल प्रहरी