मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

रास्वपाद्वारा उम्मेदवार छनोटमा ‘वैज्ञानिक मोडेल’ सार्वजनिक, प्रविधिमैत्री प्रणालीमा जोड (पूर्णपाठ)

सोमबार, बैशाख २१ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको विस्तृत तथा ‘वैज्ञानिक’ कार्यविधि सार्वजनिक गरेको छ। ‘सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति’ चयन गर्ने उद्देश्यसहित १३ बुँदे रूपरेखा अघि सारिएको हो।

पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई मापनयोग्य र पारदर्शी बनाउन विभिन्न मापदण्डमा निश्चित भाराङ्क निर्धारण गरेको छ। जसअनुसार ‘लिडरसिप एकेडेमी’लाई २५ प्रतिशत अङ्क दिइएको छ, जहाँ आकांक्षीहरूको नेतृत्व क्षमता र वैचारिक स्पष्टताको परीक्षण हुनेछ। यस चरणमा उत्तीर्ण हुनेले मात्र अर्को प्रक्रियामा प्रवेश पाउने व्यवस्था गरिएको छ।

त्यस्तै ‘पोलिटिकल प्रोक्सिमिटी’ शीर्षकमा २५ प्रतिशत भार छुट्याइएको छ, जसअन्तर्गत विगतको राजनीतिक पृष्ठभूमि, साङ्गठनिक सक्रियता, जनसम्पर्क र जित्ने सम्भावनाको मूल्याङ्कन गरिनेछ। समावेशितालाई ध्यानमा राख्दै महिला, दलित, सीमान्तकृत समुदाय, युवा तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न १० प्रतिशत अङ्कभार राखिएको छ।

सबैभन्दा बढी ४० प्रतिशत भार ‘प्रारम्भिक निर्वाचन’लाई दिइएको छ, जसमार्फत पार्टीभित्रको आन्तरिक लोकतन्त्र मजबुत बनाउने र सदस्यहरूको मताधिकार सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

उम्मेदवार बन्न इच्छुकले पहिलो चरणमा ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिनुपर्नेछ। पालिका र वडा तहका लागि छुट्टाछुट्टै संरचना बनाइनेछ। साथै, योग्य र विज्ञ व्यक्तिलाई आकर्षित गर्न ‘ल्याटरल इन्ट्री’को व्यवस्था पनि गरिएको छ, जसअन्तर्गत ‘कुलिङ पिरियड’ पूरा नगरेका व्यक्तिलाई समेत आवेदन दिने अवसर प्रदान गरिनेछ।

मतदान प्रक्रियालाई सुरक्षित र विश्वसनीय बनाउन पार्टीले आधिकारिक एपमार्फत अनलाइन मतदान प्रणाली लागू गर्ने तयारी गरेको छ। यसमा ‘ब्लकचेन’ वा सोसरहको प्रविधि प्रयोग गरी तथ्याङ्क सुरक्षामा विशेष ध्यान दिइनेछ। साथै ‘ब्लाइन्ड भोटिङ’ प्रणालीमार्फत मतदान नसकिएसम्म अन्य मूल्याङ्कनका नतिजा गोप्य राखिनेछ।

रास्वपाले उम्मेदवार छनोटमा हुने आर्थिक चलखेल, गुटबन्दी र धाँधलीविरुद्ध ‘शून्य सहनशीलता’ नीति लिएको जनाएको छ। आचारसंहिता उल्लङ्घन गर्ने जो-कोहीलाई तत्काल निष्कासन गर्ने र उम्मेदवारीसमेत खारेज गर्ने कडा व्यवस्था गरिएको छ।