काठमाडाै । भारतले लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्रालाई ऐतिहासिक मार्ग भएको दाबी गर्दै यस विषयमा नेपालले उठाएको सीमासम्बन्धी आपत्तिलाई अस्वीकार गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले आइतबार सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै भारतको अडान स्पष्ट र दीर्घकालीन रूपमा सुसंगत रहेको बताएका छन्। उनका अनुसार लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको स्थापित मार्ग हो र यो कुनै नयाँ विकासक्रम नभएको उनले उल्लेख गरेका छन्।
यसअघि नेपालको परराष्ट्र मन्त्रालय ले लिपुलेक हुँदै यात्रा मार्ग सञ्चालन गरिएकोप्रति आपत्ति जनाउँदै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको थियो।
भारतले भने नेपालको दाबीलाई ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको जिकिर गरेको छ। प्रवक्ता जैसवालद्वारा जारी विज्ञप्तिमा क्षेत्रीय दाबीहरूको एकपक्षीय विस्तार दीर्घकालीन रूपमा टिकाउ नहुने उल्लेख गरिएको छ।
यद्यपि भारतले नेपालसँग रहेका बाँकी सीमा विवादहरू वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आफू तयार रहेको पनि स्पष्ट पारेको छ।
