बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दुःख व्यक्त

शनिबार, बैशाख १९ २०८३

काठमाडौँ । यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको शोक विज्ञप्तिमा दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

लु१ज ४१६७ नम्बरको उक्त जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को भिरालो क्षेत्रमा करिब ७००–८०० मिटर गहिरो भिरमा खस्दा ठूलो मानवीय क्षति भएको विज्ञप्तिमा उल्लेख छ। घटनाले आफूहरूलाई स्तब्ध र मर्माहत बनाएको रास्वपाले जनाएको छ।

विकट भौगोलिक अवस्था र कठिन परिस्थितिका बाबजुद उद्धारमा खटिएका सुरक्षा निकाय तथा टोलीहरूले देखाएको साहस, समर्पण र मानवीयताको पार्टीले उच्च सम्मान गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

रास्वपाले यस घटनाले सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको भन्दै यस्ता दुर्घटनाहरू केवल तथ्याङ्क नभई नागरिक जीवनसँग प्रत्यक्ष जोडिएका संवेदनशील विषय भएको बताएको छ। साथै भविष्यमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सवारीसाधन दुर्घटना रोकथामका लागि नीतिगत सुधार, सडक अनुशासनको कडाइका साथ कार्यान्वयन तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने प्रतिबद्धता पनि जनाएको छ।