काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएको भन्दै पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
१३७औँ विश्व श्रमिक दिवसका अवसरमा शुक्रबार “लोकतन्त्र, ट्रेड युनियन र मानवअधिकारः समग्र श्रमिकको संवैधानिक अधिकार” भन्ने नारासहित नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आयोजित कार्यक्रममा उनले कांग्रेस जनादेशअनुसार अघि बढ्ने बताए। लोकतान्त्रिक मूल्य र मान्यताअनुसार संसदीय प्रणालीभित्र रहेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गरिने उनले स्पष्ट पारे।
थापाले देशको वर्तमान आर्थिक अवस्था र छिमेकी मुलुकहरूसँगको व्यापारिक तथा कूटनीतिक सम्बन्धप्रति सरकार गम्भीर नभएको आरोप लगाए।
भारत र चीनले लिपुलेक हुँदै मानसरोवर जाने मार्गबारे गरिरहेको छलफलप्रति नेपालले स्पष्ट र एकीकृत अडान राख्नुपर्नेमा उनले जोड दिए। राष्ट्रिय हितका विषयमा सिङ्गो देश एक ठाउँमा उभिनुपर्ने र सरकारले छिमेकी मुलुकहरूसँग सहुलियतपूर्ण व्यापारका लागि ठोस पहल गर्नुपर्ने उनको माग थियो।
उनले भन्सार कडाइका कारण सीमा आसपासका नागरिकको दैनिक जीवनयापनमै असर परेको उल्लेख गर्दै यस विषयलाई संसद् तथा अन्य माध्यमबाट उठाइने बताए। साथै, भन्सार क्षेत्रमा सुरक्षाकर्मीको व्यवहारका कारण स्थानीय नागरिकको आत्मसम्मानमा चोट पुग्ने अवस्था देखिएकाले त्यसप्रति सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय परिषद्का अध्यक्ष योगेन्द्र कुँवरले सरकार श्रमिकका माग सुनुवाइ गरी समस्या समाधानमा अग्रसर हुनुपर्नेमा जोड दिए।
त्यसैगरी विभिन्न देशबाट आएका श्रमिक अगुवाहरूले श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र श्रमिक संगठनबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनीहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, सुरक्षित कार्य वातावरण तथा ट्रेड युनियनको भूमिकाबारे आ–आफ्ना धारणा राखेका थिए।