मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

शनिबार, बैशाख १९ २०८३

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधि अब विकल्प नभई आधारभूत आवश्यकता बनिसकेको उल्लेख गरे। साथै सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, स्टार्टअप समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालालाई उनले शुभकामना व्यक्त गरे।

मन्त्री तिमिल्सिनाले सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको बताए। मन्त्रालयले आगामी दशकलाई लक्षित गरी दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण तथा डिजिटल सार्वजनिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ। नागरिक एपलाई थप प्रभावकारी बनाउँदै एउटै डिजिटल प्लेटफर्ममार्फत अत्यावश्यक सेवा सहज रूपमा उपलब्ध गराउने व्यवस्था विस्तार गरिँदै रहेको उनले जानकारी दिए।

उनका अनुसार नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसका लागि राष्ट्रिय एआई नीति, साइबर सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी र संस्थागत संरचना सुधारको कामलाई तीव्रता दिइएको उनले बताए।

देशभर उच्च गतिको ब्रडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डाटा सेन्टर तथा डिजास्टर रिकभरी प्रणाली सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे। साथै सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, युवा प्रतिभा प्रवर्द्धन, स्टार्टअप विकास तथा राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनको भनाइ छ।

डिजिटल रूपान्तरण सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले निजी क्षेत्र, शैक्षिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम, प्रविधि समुदाय तथा नागरिकबीच सहकार्य आवश्यक रहेको बताए। समृद्ध, आधुनिक र डिजिटल नेपाल निर्माणको अभियानमा सबैलाई साथ दिन उनले आह्वान गरे।