काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाभित्र बागमती नदी र यसका सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने कार्य सुरु गरेको छ।
सहरी विकासमन्त्री सुनिल लम्सालका अनुसार पहिलो चरणमा थापाथली, सिनामंगल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएको र अब दोस्रो चरणको काम अघि बढाइएको हो।
स्थानान्तरण प्रक्रिया व्यवस्थित बनाउन बिहीबार मन्त्रालयमा विभिन्न सरकारी निकायबीच संयुक्त बैठक बसेको थियो। बैठकले आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालेपछि आजबाट कार्यान्वयन सुरु गरिएको जनाइएको छ।
मन्त्रालयका अनुसार प्रभावित नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रंगशाला पुर्याइनेछ। त्यहाँ तीन वटा सहायता कक्ष सञ्चालन हुनेछन्—पहिलोमा सूचना तथा तथ्याङ्क सङ्कलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने र तेस्रोमा गृह मन्त्रालयको टोलीबाट डिजिटल विवरण सङ्कलन गरिनेछ।
होल्डिङ सेन्टरमा लैजान नसकिने दराज, टेबुल, खाटजस्ता सामग्रीको भण्डारण तथा सुरक्षामा सुरक्षा निकायले सहयोग गर्ने जनाइएको छ। आश्रयस्थल नभएका वा आफैं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन पनि यातायातको व्यवस्था गरिएको छ।
सरकारले प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवा उपलब्ध गराउने जनाएको छ। सङ्कलित विवरणका आधारमा सुकुम्बासीको पहिचान र प्रमाणीकरण गरिनेछ भने पहिचान हुन नसकेकालाई फिर्ता पठाइनेछ। पहिचान भएका परिवारलाई भने निश्चित अवधिसम्म सहयोग उपलब्ध गराई पुनःस्थापनाको प्रक्रिया अघि बढाइनेछ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौँले यसअघि सूचना जारी गर्दै नदी किनारका अतिक्रमित बस्ती आज साँझसम्म खाली गर्न आग्रह गरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार उच्च जोखिममा रहेका बस्तीहरू आज बिहान ७ बजेदेखि खाली गर्ने कार्य सुरु गरिएको हो।
विगतमा नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गर्ने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको छानबिन गरी दोषी ठहरिए कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ।