बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना, राष्ट्रिय एकता सुदृढ बनाउन आग्रह

शुक्रबार, बैशाख १८ २०८३

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना, राष्ट्रिय एकता सुदृढ बनाउन आग्रह

काठमाडौं । रामचन्द्र पौडेलले २५७०औँ बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत उनले गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम भई राष्ट्रिय एकता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे।

उनले “शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय हो,” भन्दै बुद्धका शिक्षाले समाजमा शान्ति, सहअस्तित्व र पारस्परिक सम्मान प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।

वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको स्मरणमा विश्वभर बुद्ध जयन्ती मनाइने परम्परा रहेको उल्लेख गर्दै यस दिन गुम्बा, विहार, मठ, स्तूप र चैत्यहरूमा विशेष पूजा, प्रार्थना, ध्यान तथा प्रवचन आयोजना गरिने गरिएको छ।

इतिहासअनुसार, लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतमका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्दतर्फ प्रेरित गर्दै आएको सन्देशमा उल्लेख गरिएको छ।

सन्देशको अन्त्यमा राष्ट्रपतिले बुद्धका कालजयी शिक्षालाई आत्मसात् गर्दै व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहिष्णुता र सहअस्तित्व अझ मजबुत बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।