काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसमक्ष ९ बुँदे संयुक्त माग राख्दै ध्यानाकर्षण गराएका छन्।
आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी का प्रमुख सचेतकहरूको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल, कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापा र नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल सहभागी थिए।
प्रतिपक्षले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई उचित विकल्प र पहिचानबिना हटाउने प्रयासप्रति आपत्ति जनाएको छ। साथै नागरिकको आवासको हक सुनिश्चित गर्दै सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
त्यस्तै, दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धिले जनजीवन महँगो भएको भन्दै महँगी नियन्त्रण र सुपथ मूल्य पसल सञ्चालन गर्न माग गरिएको छ।
रासायनिक मलको सम्भावित अभावलाई मध्यनजर गर्दै बर्खे सिजनका लागि समयमै मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ।
झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौँमा फैलिएको बर्डफ्लुबाट प्रभावित किसानलाई तत्काल राहत र क्षतिपूर्ति दिन पनि माग गरिएको छ।
पेट्रोलियम पदार्थको पटक–पटकको मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै आपूर्ति शृङ्खला सुधार र उपभोक्तालाई राहत प्याकेज घोषणा गर्न पनि जोड दिइएको छ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा प्रतिपक्षलाई बेवास्ता गरिएको भन्दै सबै पक्षको सहभागितासहित पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अपनाउन माग गरिएको छ।