काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ।
अर्थ मन्त्रालय का अनुसार अर्धमासिक तलब वितरण व्यवस्था पाइलट परियोजनाका रूपमा बुधबारदेखि कार्यान्वयनमा ल्याइएको हो। मन्त्रालयमा आयोजित कार्यक्रममा डॉ. स्वर्णिम वाग्लेले प्रणालीको शुभारम्भ गरेका हुन् ।
महालेखा नियन्त्रक कार्यालयमार्फत कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) प्रयोग गरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर यो व्यवस्था सुरु गरिएको हो। यससँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको तलब प्राप्त गरेका छन्।
अर्थमन्त्री वाग्लेले अर्धमासिक तलब वितरणले बजारमा तरलता बढाउँदै उपभोग र मागलाई सशक्त बनाउने विश्वास व्यक्त गरे । उनले हाल सङ्घीय निजामती कर्मचारीमा सीमित यो व्यवस्था क्रमशः सबै सरकारी वेतनधारीमा विस्तार गरिने बताए। साथै, छोटो अवधिमै प्राविधिक तयारी पूरा गरेकोमा महालेखा नियन्त्रक कार्यालय लाई धन्यवाद दिए।
कार्यक्रममा शोभाकान्त पौडेलले प्रणाली विस्तारका लागि कार्यालय पूर्ण रूपमा तयार रहेको बताउँदै प्रदेश तथा अन्य सरकारी सेवामा पनि क्रमिक रूपमा लागू गरिने जानकारी दिए। उनका अनुसार आवश्यकताअनुसार १५ दिन वा मासिक रूपमा तलब भुक्तानी गर्न सकिनेछ।
अर्धमासिक तलब वितरणले बजारमा नियमित माग सिर्जना गर्ने, साना व्यवसायीको नगद प्रवाह सुधार गर्ने तथा सेवा क्षेत्र र डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यसअघि वैशाख ४ गते अर्थमन्त्री वाग्लेले यस्तो व्यवस्था पाइलट परियोजनाका रूपमा अघि बढाउने निर्णय गरेका थिए ।