काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै रहेको बताइएको छ। भक्तको रक्षा गर्न भगवान् विष्णु ले वैशाख शुक्ल चतुर्दशीका दिन नृसिंह अवतार लिनुभएको धार्मिक मान्यता रहेकाले यस दिन विशेष रूपमा पूजा–आराधना गरिने गरिएको जनाइएको छ।
धार्मिक ग्रन्थअनुसार नृसिंह अवतारलाई विष्णुको चौथो अवतारका रूपमा लिइन्छ। दैत्यराज हिरण्यकश्यपुको अत्याचार अन्त्य गरी भक्त प्रह्लादको उद्धार गर्न विष्णुले नृसिंह रूप धारण गरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ।
कथाअनुसार कश्यप ऋषिकी पत्नी दितिबाट जन्मिएका हिरण्याक्ष र हिरण्यकश्यपु ठूला भएपछि अत्याचारमा लिप्त भएको भनाइ छ। हिरण्याक्षलाई विष्णुको बराह अवतारले वध गरेपछि हिरण्यकश्यपुले कठोर तपस्या गरी ब्रह्माबाट विशेष वरदान प्राप्त गरेको बताइन्छ। उसले आफूलाई न घरभित्र न बाहिर, न दिन न रात, न मान्छे न जनावर, न हतियारबाट मर्ने वर मागेको उल्लेख गरिएको छ।
वरदानपछि अहंकारी बनेका हिरण्यकश्यपुले आफूलाई नै सर्वश्रेष्ठ ठान्न थालेको र आफ्नै छोरा प्रह्लादलाई समेत विष्णुभक्ति त्याग्न दबाब दिएको जनाइएको छ। तर प्रह्लादले हरिभक्ति नछोडेपछि उनलाई विभिन्न यातना दिइएको कथामा उल्लेख छ। ती सबै प्रयास असफल भएपछि हिरण्यकश्यपुले चुनौती दिँदा प्रह्लादले विष्णुको आह्वान गरेको बताइन्छ।
त्यसपछि खम्बाबाट नृसिंह अवतार प्रकट भई सन्ध्याकालमा, न घरभित्र न बाहिर पर्ने ढोकाको बीचमा, आफ्नो काखमा राखेर नङ्ग्राले हिरण्यकश्यपुको वध गरेको धार्मिक विश्वास छ। यसरी ब्रह्माले दिएको वरदानका सबै शर्त पूरा गर्दै हिरण्यकश्यपुको अन्त्य गरिएको जनाइएको छ।
नृसिंहको क्रोध शान्त पार्न देवताहरूले प्रयास गरे पनि सफल नभएपछि अन्ततः प्रह्लादको प्रार्थनाबाट उनी शान्त भएको विश्वास गरिन्छ। त्यसपछि प्रह्लादले हरिभक्तिमा रहँदै राज्य सञ्चालन गरेको र धर्ममार्ग अपनाएको कथामा उल्लेख छ।