मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

अध्यादेशबारे रास्वपाकै सांसद गणेश कार्कीले गरे सरकारलाई प्रश्न

बुधबार, बैशाख १६ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने तयारी गरेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि देखिएको छ ।

रास्वपा सांसद गणेश कार्कीले सरकारको उक्त कदमप्रति सार्वजनिक रूपमा असहमति जनाउँदै प्रश्न उठाएका छन् ।

मोरङ–३ बाट निर्वाचित सांसद कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै “विधिको प्रश्न र जवाफदेहीताको अपेक्षा स्वाभाविक हो, यसले सम्बन्ध कमजोर बनाउँदैन” भनेका छन् ।

उनले सरकारसँग झन्डै दुईतिहाइ नजिकको समर्थन हुँदाहुँदै संसद् छल्दै अध्यादेश ल्याउन खोज्नुको औचित्यमाथि पनि प्रश्न उठाएका छन् । “अधिवेशन रोकेर अध्यादेश ल्याउनुपर्ने अवस्था किन आयो भन्ने स्पष्ट हुन बाँकी छ, तर यसलाई बहादुरी भन्न सकिँदैन,” उनले भनेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् र सहकारीसम्बन्धी समस्यासँग सम्बन्धित दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ती अध्यादेश हाल राष्ट्रपतिको कार्यालयमा अध्ययनकै क्रममा रहेको जनाइएको छ ।

कार्कीले अध्यादेश संविधानले दिएको अधिकार भए पनि यसको प्रयोग गर्दा मर्म र भावनालाई बेवास्ता गर्न नहुने उल्लेख गरेका छन् । “संविधान अक्षरमा मात्रै सीमित हुनु हुँदैन, यसको जीवन्तता मर्मको पालना गर्नुमै निर्भर हुन्छ,” उनले भनेका छन् ।

उनले विगतका यस्तै परिस्थितिमा आफूहरूले उठाएका प्रश्नहरू अहिले पनि सान्दर्भिक रहेको भन्दै लोकतन्त्रको मूल्य र जवाफदेहिता जोगाउनुपर्नेमा जोड दिएका छन् ।