मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

बीपी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध, फेरि बगायो डाइभर्सन

बुधबार, बैशाख १६ २०८३

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार बनाइएका डाइभर्सन मंगलबार राति बगाएपछि यातायात सेवा ठप्प बनेको हो।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा र माम्ती क्षेत्रका डाइभर्सन बगाएको छ।

राजमार्ग अवरुद्ध भएपछि काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सवारीसाधन रोकिएको अवस्थामा राखिएको छ।

प्रहरीका अनुसार धुलिखेलमा रोकिएका सवारीसाधनलाई चरिकोट मार्ग हुँदै पठाइसकिएको छ। मङ्गलटारमा रोकिएका चार वटा ईभी गाडीका १६ यात्रुलाई तेमालको सडक प्रयोग गरी धुलिखेल पठाउने तयारी भइरहेको छ।

बीपी राजमार्ग हुँदै यात्रा गर्ने योजना बनाएका यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।