त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका क्षेत्रमा सडक सुरक्षासम्बन्धी काम तीव्र पारिएको छ।
आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल निर्माण सकिएका स्थानमा सेतो–पहेंलो रोड मार्किङ, डिभाइडरमा रङ लगाउने, मुख्य तथा सहायक सडकबीच सिमेन्ट बार राख्ने, स्पिड लिमिट संकेत जडान गर्ने लगायतका काम भइरहेको छ। साथै सडक किनारमा रेलिङ, डब्लु–बिम र डेलिनेटर पोल जडान पनि जारी छ।
उहाँका अनुसार सडक निर्माण अन्तिम चरणमा पुगेकाले सुरक्षाका कामलाई प्राथमिकता दिइएको हो। पूर्वी खण्डअन्तर्गत ६५ किलोमिटर सडकमा हाल करिब सात किलोमिटर मात्रै कच्ची रहेको र बाँकी क्षेत्रमा कालोपत्र तथा पक्की सडक सञ्चालनमा आइसकेको छ। यस खण्डको भौतिक प्रगति ८१ प्रतिशत पुगेको जनाइएको छ।
२०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको आयोजना समयमै नसकिएपछि चौथोपटक म्याद थप गरी आगामी साउनसम्म पुर्याइएको छ।
एडिबीको ऋण सहयोगमा सञ्चालित कुल १६ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी लागतको यो आयोजनाअन्तर्गत ११३ किलोमिटर सडक विस्तार भइरहेको छ। यसमध्ये ७० किलोमिटरमा चार लेन, २९ किलोमिटरमा सर्भिस लेनसहित चार लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन सडक निर्माण गरिनेछ।