बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्री सीता वादीको १० बुँदे ‘नगर्ने काम’ घोषणा, सुशासनमा शून्य सहनशीलताकाे प्रतिबद्धता

मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो कार्यकालमा कुनै पनि प्रकारको अनुचित प्रभाव, भ्रष्टाचार र नातावादलाई प्रश्रय नदिने प्रतिबद्धता व्यक्त गरेकी छन् । मन्त्रालय सम्हालेको पाँच हप्ता पुगेको अवसरमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत १० बुँदे ‘नगर्ने काम’ सूची सार्वजनिक गरेकी हुन् ।

मन्त्री वादीले नातागोता वा चिनजानका आधारमा नियुक्ति, जागिर वा स्वार्थप्रेरित सरुवा–बढुवा नगर्ने स्पष्ट पारेकी छन् । उनले कानुनविपरीत भनसुन वा शक्तिको दुरुपयोग नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

उनले लागूऔषध, ठगी, जालसाजी तथा तस्करी जस्ता अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने कुनै पनि काम आफ्नो तर्फबाट नहुने स्पष्ट गरेकी छन् ।

भ्रष्टाचार र कमिसनतन्त्रप्रति शून्य सहनशीलता अपनाउने बताउँदै उनले मन्त्रालयभित्र वा बाहिर अनियमितता भेटिए कडा रूपमा उभिने उल्लेख गरेकी छन् । साथै मन्त्री सुविधाअन्तर्गत पाउने अनावश्यक क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी नलिने पनि उनले घोषणा गरेकी छन् ।

सीमान्तीकृत समुदायको अधिकार संरक्षणमा आफू सम्झौताहीन रूपमा अघि बढ्ने उल्लेख गर्दै उनले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिमाथि हुने हिंसाविरुद्ध निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

त्यसैगरी उनले सरकारी सेवा लिँदा ‘सर्टकट’ खोज्ने वा राज्य स्रोतको निजी उपयोग गर्ने प्रवृत्तिलाई अस्वीकार गर्ने बताएकी छन् ।

मन्त्री वादीले निर्वाचनमा दिएको भोटका आधारमा कुनै दबाब वा प्रभावमा नपरी सबै नागरिकलाई समान सेवा दिने प्रतिबद्धता दोहोर्याएकी छन् । उनले सुशासन केवल सरकारको नीतिले मात्र नभई नागरिकको सचेत सहभागिताबाट सम्भव हुने उल्लेख गर्दै “सम्बन्ध होइन नियम, दबाब होइन न्याय” भन्ने मूल मन्त्र अघि सारेकी छन् ।