बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मनोहरा क्षेत्रका ८१० घरटहरा भत्काइयो

मंगलबार, बैशाख १५ २०८३

भक्तपुर। भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्बासी क्षेत्रका सम्पूर्ण संरचना हटाउने काम सम्पन्न भएको छ ।

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका ८१० घरटहरा भत्काइसकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिएका छन् ।

सो क्षेत्रका संरचना हटाउन साेमबार २४ वटा जेसीबी प्रयोग गरिएको थियो । यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्बासी बस्तीका सबै संरचना हटाइएको जनाइएको छ ।

शनिबार साँझ संरचना हटाउने प्रयास हुँदा स्थानीयवासी र सुरक्षाकर्मीबीच ढुंगामुढा भएको थियो ।

सुकुम्बासीसँगको झडपमा प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानासहित २२ जना सुरक्षाकर्मी घाइते भएका थिए ।

आइतबार बिहान करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएपछि करिब ८० प्रतिशत बासिन्दाले आफैं बस्ती छाडेका थिए ।

प्रहरीका अनुसार आइतबार र सोमबार बस्ती खाली गराउने काम शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको हो ।