काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहतका निकायहरूमा दुरुपयोग भइरहेका सरकारी सवारी साधन फिर्ता मन्त्रालयमा तान्न थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले अनधिकृत रूपमा प्रयोग भइरहेका सबै सरकारी गाडी मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि सवारी साधन फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको हो ।
मन्त्रालयका अनुसार सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी पाएपछि मन्त्री मेहताले यस्तो निर्देशन दिएकी हुन् ।
फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालय परिसरमै राखिएको छ । अब ती गाडीहरू आवश्यकताका आधारमा कानुनबमोजिम मन्त्रालयका कर्मचारीहरूले प्रयोग गर्ने व्यवस्था मिलाइने बताइएको छ ।
प्रचलित कानुनअनुसार सहसचिव र सोभन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था रहेको छ ।