दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गर्न लागिएको भानु साहित्य उद्यानको आज शिलान्यास गरेका छन्। आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घामा उक्त उद्यान निर्माणको काम अघि बढाइएको हो।
भानु नगरपालिकाले गत पुसमा उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको थियो। यस क्षेत्रलाई सप्तधामका रूपमा विकास गर्ने उद्देश्यसहित गुरुयोजना अघि बढाइएको नगरपालिकाले जनाएको छ।
स्वीकृत गुरुयोजनाअनुसार उद्यानको पूर्ण निर्माणका लागि करिब १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा संघीय सहरी विकास मन्त्रालयमार्फत २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे गर्ने तथा ५४ फिट अग्लो आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गर्ने योजना रहेको छ। हालसम्म करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको पनि नगरपालिकाले जनाएको छ।
नगर प्रमुख त्रिपाठीका अनुसार गुरुयोजना कार्यान्वयनपछि उद्यानमा साहित्यिक संरचना, सांस्कृतिक प्रतीक, पर्यटकीय पूर्वाधार तथा अध्ययन–अनुसन्धानका सुविधा विकास गरिनेछ। उहाँले भानुभक्तको जन्मस्थललाई साहित्यिक पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्य रहेको बताए ।
उद्यानभित्र भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, वनभोज स्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र तथा साहित्यिक पदमार्गजस्ता संरचना निर्माण गर्ने प्रस्ताव गरिएको छ।
हालसम्म भानु साहित्यिक उद्यानमा करिब १ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको नगरपालिकाले जनाएको छ। पछिल्ला दुई आर्थिक वर्षमा गरी १ करोड ८० लाख ४१ हजार ५०० रुपैयाँ खर्च भएको विवरण पनि सार्वजनिक गरिएको छ।
भानुभक्त आचार्यको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पहिचानसहितको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित परियोजना अघि बढाइएको बताइएको छ।