काठमाडौं– काठमाडौंको टुँडीखेलको नेपाली सेनाले पुनर्निर्माण गर्ने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्ने भएपछि साँच्चिकै काठमाडौँको सुन्दरता बढ्ने र राष्ट्रिय कार्यक्रम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न राजधानीमा उपलब्ध ऐतिहासिक धरोहरका रूपमा रहेको टुँडिखेललाई सुधार गर्ने क्रममा आधुनिक संरचना, नेपाली वास्तुकलासहित सैनिक मञ्चको क्षमता वृद्धि गरिनेछ । काठमाडौँ मध्यभागमा अवस्थित सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टुँडिखेल मुलुककै गौरव हो ।
टुँडिखेलभित्र विसं २०१८ मा आधुनिक सैनिक मञ्च निर्माण गरिएको थियो । पुनःनिर्माणको क्रममा टुँडिखेल वरिपरि उद्यानसहितको ‘जगिङ ट्र्याक’ र महाँकाल मन्दिरबाट पुरानो बसपार्क जाने आकर्षक लिङ्करोड र दक्षिणमा प्यारापिट बनाइनेछ । घोडेजात्रा, गणतन्त्र दिवस, संविधान दिवस, शिवरात्रि र फूलपाती बढाइँजस्ता कार्यक्रममा पहुँच असुविधा भएपछि टुँडिखेल वरपरका रुख र भवनका छतबाट जोखिम सहेर सर्वसाधारणले कार्यक्रम हेर्दै आएका छन् ।
टुँडिखेलको पुनःनिर्माण र उत्थानका लागि झण्डै रु ९० करोड आवश्यक पर्नेमा यस वर्ष वार्षिक बजेटमा रु पाँच करोड परेको नेपाली सेनाले जानकारी दिएको छ । पुनःनिर्माणलाई सेनाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा अघि बढाउने निधो गरेको बताइएको छ ।
सैनिक मञ्चमा हाल कायम रहेको एक हजार ३६५ सिट सङ्ख्यालाई बढाएर तीन हजार ८० पु¥याउने, भूकम्प प्रतिरोधी परम्परागत नेपाली संरचना, अतिविशिष्ट व्यक्तिका लागि ‘बुलेटप्रुफ क्याबिन’, फरक क्षमताका व्यक्तिमैत्री भौतिक पूर्वाधार, सर्वसाधारणका लागि सहज पहुँच र भूमिगत पार्किङसम्बन्धी विषय टुँडिखेल तथा सैनिक मञ्च सुधार परियोजनामा समावेश गरिएकोे छ ।