काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि पुनः सिंगापुर लैजाने चर्चा भइरहँदा उनले आफू स्वस्थ रहेको र आफ्ना सबै अंग ठीक रहेको चिकित्सकले बताएको उल्लेख गरेका छन् ।
स्वास्थ्य समस्याका कारण बिहीबारको सचिवालय बैठक स्थगित गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहानै झापाका कार्यकर्तासँग भेटवार्ता गरे ।
आफ्नै निर्वाचन क्षेत्र झापा–५, का अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले सीधै आफ्नो स्वास्थ्यबाट कुरा शुरु गरेका थिए । ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो’, प्रधानमन्त्री ओलीले रमाइलो तरिकाले प्रश्न गरे ।
जवाफ पनि आफै दिए, ‘मेरा सबै अंग ठीक भएको चिकित्सकहरुले बताएका छन् । हो, १५ वर्षअघि बिरामी थिएँ । अहिले स्वस्थ छु, २०–२५ वर्ष बाँच्छु ।’
बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको चिन्ता नलिन आग्रह गरे ।