बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

आइतबार, बैशाख १३ २०८३

काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको २७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ।

मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको सानेपास्थित अधिकारीको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेको थियो।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई अविचलित निष्ठा र सिद्धान्तका प्रतीकका रूपमा स्मरण गरे। उनले प्रतिष्ठानलाई स्थापित गर्न योगदान पुर्‍याएका दिवंगत व्यक्तित्वहरू हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा. गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदान उल्लेख गर्दै उनीहरूले अधिकारीका विचार संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

पोखरेलले अधिकारी नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दा अघिदेखि नै आन्दोलनमा सक्रिय रहेको स्मरण गर्दै भारतमा रहँदा भारतीय स्वतन्त्रता संग्राममा सहभागी भई जेलजीवनसमेत बिताएको उल्लेख गरे।

कार्यक्रममा एमाले नेता प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय राजनीतिमा केही पुस्ताको नाममा अतिवादी सोच हाबी भएको टिप्पणी गर्दै परिपक्व नेतृत्वको मार्गदर्शन र युवा ऊर्जाको संयोजनबाट मात्र देश निर्माण सम्भव हुने बताए। उनले नेपालको कम्युनिष्ट आन्दोलनले इतिहासमै ठूलो धक्का बेहोरेको धारणा राखे।

सो अवसरमा वक्ताहरूले मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि आफ्नो निष्ठा र सिद्धान्त नत्याग्ने नेता भएको भन्दै राष्ट्रिय राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।