मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सरकारले गरीबको झुपडी भत्काएर बहादुरी देखाइयो : हर्क साम्पाङ

'अबको ५ वर्ष गरीब, निमुखा, साना व्यवसायीले डोजर, प्रहरी, लाठी, बुट र जेल मात्रै देख्नेछन्'

आइतबार, बैशाख १३ २०८३

काठमाडौं । श्रमशक्ति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङले सुकुम्वासी बस्तीमा डोजर चलाएर घरटहरा भत्काइएको घटनाप्रति सरकारको कडा आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सरकारले गरिब तथा अव्यवस्थित बसोबासीलाई लक्षित गरेर घर भत्काउनु गलत भएको टिप्पणी गरेका छन् । उनले सरकारलाई व्यंग्यात्मक शैलीमा ‘गरीब मारा सरकार’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

साम्पाङले लेखेका छन्, “गरीब मारा सरकारलाई गाली नगर्नु धन्यवाद दिनु सबैले… सिमाना रक्षा गर्दैन, बागमती किनारमा बसेका गरीब नेपालीलाई घोक्रे ठ्याक लाउँछ… अरु आशा नगर्नु।”

उनले गरिब र निमुखा नागरिकलाई उठीबास लगाएर सरकार बहादुरी देखाइरहेको आरोप समेत लगाएका छन् । “सिमाना मिचिएको चियाउन समेत नसक्ने सरकारले आफ्नै नागरिकको घर भत्काएर बहादुरी देखायो,” भन्दै उनले सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन् ।

साम्पाङले आगामी दिनमा सुकुम्वासी, अव्यवस्थित बसोबासी र साना व्यवसायीहरू अझ बढी जोखिममा पर्ने टिप्पणी गर्दै भनेका छन्, “अबको ५ वर्ष गरीब, निमुखा, साना व्यवसायीले डोजर, प्रहरी, लाठी, बुट र जेल मात्रै देख्नेछन्।”

उनले बाढी, पहिरो वा भूकम्पभन्दा पनि सरकारकै कदमले गरिबलाई बढी पीडा दिएको आरोप लगाएका छन् । साथै, सीमा सुरक्षाको सन्दर्भ उठाउँदै उनले सरकारले आन्तरिक नागरिकप्रति कठोर तर सीमा विवादमा कमजोर भूमिका खेलेको दाबी पनि गरेका छन् ।