भक्तपुर। भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा स्थानीय बासिन्दाको आक्रमणबाट २२ जना सुरक्षाकर्मी घाइते भएका छन्।
शनिबार साँझपख सुरक्षाकर्मीले डोजर प्रयोग गरेर सात वटा पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगा, इँटा र सिसाका बोतल प्रहार गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा बस्तीमा घरटहरा हटाउने क्रममा सुरक्षाकर्मीमाथि एक्कासि आक्रमण भएको बताए। उनका अनुसार बस्तीका करिब ८० प्रतिशत परिवारले दिउँसै सामान सारिसकेका थिए। थापाथली र ग्रैह्रीगाउँको बस्ती हटाएर डोजरसहितको टोली मनोहरा पुगेपछि संरचना भत्काउने काम सुरु गरिएको थियो।
खड्काले प्रहरीले कुनै बल प्रयोग नगरी सामान सार्नेलाई सहयोग गर्दै घर हटाउने काम गरिरहेको अवस्थामा राति पक्की घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बोतल प्रहार भएको बताए।
आक्रमणमा परी मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानासहित ११ जना नेपाल प्रहरी घाइते भएका छन्। त्यसैगरी सशस्त्र प्रहरी बल नम्बर २२ दुवाकोटबाट खटिएका ११ जना सशस्त्र प्रहरी पनि घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए।
उनका अनुसार आइतबार बिहानदेखि फेरि संरचना हटाउने अभियान सञ्चालन गरिनेछ।
मनोहरा सुकुम्बासी बस्तीमा कुल ७७७ घरटहरा रहेको जनाइएको छ। बस्तीका सुनिल लामाले अधिकांश घर भाडामा लगाइएको दाबी गर्दै सुरुमै टहरा बनाएर केही समूहले तीन लाखदेखि सात लाख रुपैयाँसम्ममा बिक्री गरेको तथा पक्की घर १८ लाख रुपैयाँसम्ममा बिक्री भएको बताए।
उनले आफू पनि १५ वर्षअघि टहरा किनेर बसेको भन्दै सरकारले वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गर्नुपर्ने माग गरे।
स्थानीयका अनुसार बस्तीका कतिपय घरबाट नियमित रूपमा भाडा असुल्ने व्यक्तिहरू आउने गरेका छन् भने धेरै बासिन्दाले मासिक भाडा तिर्दै आएका छन्।