मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

रोशी खोलाको बाढीले बीपी राजमार्ग अवरुद्ध, अस्थायी डाइभर्सन बगायो

आइतबार, बैशाख १३ २०८३

काठमाडौँ । वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाउँदा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

बाढीले काभ्रेको चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा, माम्ती तथा सिन्धुलीको आँपघारी क्षेत्रमा बनाइएका डाइभर्सन बगाएको जनाइएको छ।

शनिबार दिउँसो परेको वर्षापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले दिउँसो ३ः३० बजेदेखि राजमार्गमा सवारी आवागमन बन्द गराएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेले नमोबुद्ध नगरपालिका–कटुञ्जेदेखि रोशी गाउँपालिकाको मङ्गलटार सडकखण्डसम्म यातायात रोकेको जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार रोशी खोलामा पानीको बहाव अत्यधिक बढेकाले दुर्घटना र क्षति हुन नदिन आवागमन बन्द गरिएको हो। उनले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गर्दै अर्को सूचना नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरेका छन्।

गत वर्षको बाढीपहिरोले रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलाबाटै अस्थायी सडक र डाइभर्सन निर्माण गरी यातायात सञ्चालन हुँदै आएको थियो। यस्तै गत चैत तेस्रो साता पुनः बाढीले करिब ४ किलोमिटर सडक बगाएपछि अस्थायी संरचना पुनर्निर्माण गरिएको थियो।

राजमार्ग बन्द भएपछि अहिले सवारी साधनहरूलाई धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार क्षतिग्रस्त क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको छ।